Logo
Logo

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता


दृष्टि संवाददाता


दार्चुलाको व्यास–२ मालघाटमा नेपाल–भारत सीमा नदी माथिको तुइन शुक्रबार एसएसबीले फुकाल्दा ३५ वर्षीय युवक जयसिंह धामी बेपत्ता भएको स्थानमा खोजी गर्दै स्थानीय । तस्बिर सौजन्य : धनसिंह काकी

दार्चुला । व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो ।

गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । ‘तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका हुन्,’ स्थानीय बासिन्दा भन्छन् ।

स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६र७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए ।

‘पारि पुग्न तीनरचार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ नवीनले भने । एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए । ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भने ।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् । ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने । लगत्तै गाउँलेलाई घटनाबारेमा जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको पनि उनले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्