Logo

ओलीले बोलाए स्थायी कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने बताइएको छ । पार्टी कार्यालयका सचिव तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।

शनिबारका लागि बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ । बैठकमा उपस्थित हुन नेता नेपालपक्षलाई पनि खबर गरिएको छ ।

नेता गोकर्ण विष्टले यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका छन् । ‘यही अवस्थामा बैठकमा सहभागी हुन्नौं होला, सहमतिको प्रयास जारी छ’ नेता विष्टले भने ।

विवाद समाधानका लागि सहमतितर्फ जोड दिन र बैठक सार्न नेपालपक्षका कार्यदलका सदस्यहरुले आग्रह गरेका छन् । नेता विष्टले दिउँसोका लागि बोलाइएको स्थायी कमिटी बैठकअघि एकता कार्यदलको अनौपचारिक बैठक बस्न सक्ने बताए । समय र स्थान भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्