Logo
Logo

खोप तस्करलाई कारबाही गर्न माओवादी केन्द्रको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) नगर समितिले झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ ।

झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माओवादी केन्द्रले माग गरेको हो ।

‘घटनाको निष्पक्ष छानबिन गरी दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौं’, माओवादी केन्द्रका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा २०७८ साउन १५ गते बिर्तामोडस्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड–१९ फोकल पर्सन खोपसहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको उल्लेख छ ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुनः यस खालको गतिबिधिमा संलग्न देखिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार विर्तामोड नगरपालिकाको एक होटलबाट बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ परेका थिए । स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएर जिम्मा लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्