Logo
Logo

देवघाटमा रेबिजले चारवटा गाई मरे


दृष्टि संवाददाता


चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ ।

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् ।

मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए । उनले भने, “देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ ।” गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो ।

महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ । सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन् ।

उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भैँसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ । अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्