Logo
Logo

प्रहरी जवानको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ


दृष्टि संवाददाता


डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक/एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेका छन् ।

सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुई लाख रुपैयाँसम्म लिएर उनीहरु नक्कली परीक्षार्थी भई अन्तरवार्ता दिन गएको स्रोतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।
नक्कली परीक्षार्थी र रकम दिई अन्तरवार्तामा आफ्नो सट्टा अरुलाई पठाउने दुवैमाथि किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्