Logo
Logo

तुइनमा झुण्डिएको सुदूर: महाकालीमा बग्दै सपना


दृष्टि संवाददाता


काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी आफ्नै देशको सदरमुकाम काठमाडौं जानका लागि भन्दै घरबाट हिँडे । स्वदेशबाटै देशको सदरमुकाम पुग्नै नसकिने भएपछि उनी गाउँपारिको भारतीय भूमि भएर आफ्नै देशको सदरमुकाम हिँडेका हुन् ।

गाउँबाट भारतीय सहर जान पनि बीचमा महाकाली नदी पर्दछ। महाकाली नदीमा पुल नहुँदा वर्षौदेखि उनीहरु तुइनकै सहारामा वारपार गर्दै आएका थिए । त्यही तुइन तरेर धामी पनि भारतीय बाटो हुँदै पुनः नेपाल भएर देशको सदरमुकाम काठमाडौं जाँदै थिए । गाउँबाट पारि भारत छिर्ने बाटोमा हालिएको तुइनबाट महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएपछि उनको सपना पनि तुइनबाटै चुडिँएर बग्यो महाकाली नदीमा ।

झोलुङ्गे पुल निर्माण नहुँदा अस्थायी रुपमा हालिएको तुइन तरेर स्वदेशको बाटो नभएपछि भारत छिर्न खोजेका धामी तुइन तर्दैगर्दा शुक्रबार बिहान साढे ८ बजे तुइनमा झुण्डिएर महाकाली नदी तर्दैगर्दा बीचमै डोरी चुँडिएपछि सपना महाकालीमा हेलियो । उनको शव शनिबार दिउँसोसम्म भेटिएको छैन । शव खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी महाकाली नदी किनारमै छन् ।

यस्तै २०७५ असार ३० गतेका दिन बझाङस्थित बाउली खोलामा पुल नहुँदा खोलामा बनाइएको साँघु तर्दैगर्दा दुई बालिकाको बगेर मृत्यु भएको थियो । सुर्मा गाउँपालिका–२, की १५ वर्षीया विमलाकुमारी बोहरा र सोही गाउँकी ९ वर्षीया रिनुकुमारी बोहरा विद्यालयबाट घर फर्कने क्रममा बगेर बेपत्ता भएका थिए । खोला तथा नदीमा पुल नहुँदा बर्सेनि तुइन तर्दैगर्दा यहाँका नागरिकको सपना चुँडिदै गएको छ ।

२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री निर्वाचितपछि पदभार ग्रहण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए । तुइन, फड्के तथा साँघुलाई विस्थापित गर्ने भनेर निर्णयमा हस्ताक्षर गरेको ६ वर्ष वितिसक्दा पनि दुर्गम क्षेत्रका तुइन विस्थापित हुन नसक्दा आमनागरिकले अकालमै ज्यान गुमाउनु परेको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्