Logo
Logo

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्- ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे


दृष्टि संवाददाता


दार्चुलाको व्यास–२ मालघाटमा शुक्रबार तुइनसँगै महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएपछि मुचुल्का गर्दै प्रहरी । वारि काठको खम्बा र पारि रूखमा बाँधेर २१ वर्षदेखि तुइन सञ्चालन हुँदै आएको थियो । हिउँदमा ५० र बर्खामा १०० रुपैयाँ तिरेर सर्वसाधारणले महाकाली तर्ने गरेका थिए । तस्बिर सौजन्य : हरकसिंह कार्की, कान्तिपुरबाट

दार्चुला । कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक ।

त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् ।

शुक्रबार बिहान उनी मालघाट पुग्दा नपुग्दै यात्रुको लाइन लागिसकेको थियो । ८ बजेसम्म त उनले चार जनालाई पारि तारिसकेका थिए । लगत्तै स्थानीय जयसिंह धामी, विक्रम रङ्कली किनारमा पुगे । उनीहरू सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने यात्रामा थिए । स्थानीय अनिता धामी पनि उनीहरूसँगै राजधानीसम्मको यात्रामा थिइन् ।

महाकाली तर्न जयसिंह तुइनमा झुन्डिए । त्यही बेला कल्याणसिंह झसंग भए । यताबाट जयसिंह तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए,’ कल्याणसिंह भन्छन् ।

वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् । जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो ।

किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन–चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्