Logo
Logo

‘हस्ताक्षर’मा अड्कियो एमाले एकता


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ । निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन ।

आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो । ‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ एमाले स्रोतले भन्यो ।

आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए ।

एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ ।

कोही पनि अन्यायमा नपरून् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो सर्त अघि सारिएको उनीनिकट एक नेताले बताए । तर ओली र उनको समूहमा रहेका केही नेताले सो विषयलाई नरुचाएको बताइएको छ ।

ओली पक्षबाट कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली जसरी पनि पार्टीलाई फुट्नबाट जोगाउनुपर्छ भनेर लागिरहे पनि ओली र उनीनिकट अन्य केही नेताले भने निर्वाचन आयोगलगायत निकायहरूमा संयुक्त हस्ताक्षरको प्रबन्ध गर्नै नहुने अडान राख्दै आएका छन् ।

सोही अडानका कारण ओली र नेपालबीच पछिल्लो समय कुनै संवाद हुन नसकेको जनाइएको छ। नेता नेपालले आफूलाई भेट्न पुगेका नेम्वाङ र पौडेललाई कुरा मिलेपछि मात्रै ओलीसँग भेट्ने त्यसअघि हुने भेटको कुनै अर्थ नहुने बताएका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्