Logo
Logo

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’


दृष्टि संवाददाता


सर्लाही । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन् । कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन् ।

रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए । ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ । यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु ।’

उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो । उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो । कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन् ।

अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले अझै (शुक्रबारसम्म) कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् ।

खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’ , यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्