Logo
Logo

खोप लगाएको झुठो विवरण दिएपछि तिर्नु पर्‍यो २३ लाख रुपैयाँ जरिवाना


दृष्टि संवाददाता


काठमाडौं । क्यानडाका अधिकारीहरूले अमेरिकाबाट क्यानडा गएका दुई जना यात्रुलाई झन्डै ४७ लाख रुपैयाँ जरिवाना तिराएका छन् ।

पूर्ण रूपमा कोरोना खोप लगाइसकेको झुठो विवरण दिएका उनीहरूलाई १९ हजार ७ सय २० अमेरिकी डलर (२३ लाख ४४ हजार रुपैयाँ) का दरले जरिवाना तिराइएको छ ।

द पब्लिक हेल्थ एजेन्सी अफ क्यानडाले जुलाई तेस्रो साता अमेरिकाबाट आएका ती यात्रुले तोकेका मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जरिवाना तिराइएको जनाएको हो ।

उनीहरूले प्रस्थान गर्नुअघि गरिएको परीक्षण, क्यानडा पुगेपछि गर्नुपर्ने परीक्षण र सरकारले तोकेका होटलमा क्वारेन्टिन बस्ने कुनै पनि मापदण्ड पूरा गरेका थिएनन् । गत जुलाई ५ देखि क्यानडाले कोरोनाविरूद्ध पूर्ण खोप लगाएका विदेशी र स्वदेशी नागरिकलाई क्यानडा आउँदा क्वारेन्टिन बस्नु पर्ने नियम खुकुलो बनाएको छ ।

अमेरिकामा लगाउन चाहनेहरूलाई खोप सहजै पाइन्छ । मानिसहरूले खोप लगाउन आनाकानी गरेपछि विभिन्न राज्यहरूले प्रोत्साहनस्वरूप पैसा दिन थालेका छन् । यसका बाबजुद् पनि अझै धेरै अमेरिकी खोप लगाएका छैनन् ।

क्यानडाले आफ्नो देशमा प्रवेश गर्नेले कोरोना नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गरे गल्तीको गम्भीरता हेरी ६ महिनासम्म कैद वा ७ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नु पर्ने हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्