Logo
Logo

प्रभुराम शर्मा साउन २६ देखि कायम मुकायम प्रधान सेनापति


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी तोकेकी छन् ।

बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् ।

शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्