Logo

मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे


दृष्टि संवाददाता


काठमाडौं । मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ । लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो । शनिबार राति हेलम्बु क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको हो ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ ।

यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो । ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’

अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस ब्रिज) आइतबार बिहान बगेको हो । शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो । अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो । गाउँपालिका र स्थानीयको प्रयासमा जाली गारो र ढुंगाले सहयोग दिएर यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनः अर्को बाढी आएको हो । बाढीले चनौटे बजारमा बढी क्षति गरेको प्रहरीले जनाएको छ ।

अघिल्लो बाढीपछि क्षति पुगेका अधिकांश घर खाली थिए । बाढीले ल्याएको लेदो माटो र ढुंगा पन्छाएपछि केही घरमा मात्र स्थानीय बस्न थालेका थिए । धेरै घर खाली रहेको र बसोबास भएका घरका स्थानीयले पनि समयमै छोडेकाले मानवीय क्षति भने हुन पाएन ।

बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार बाढीले अरू दुई झोलुंगे पुल छोपेको छ । पुल माथिबाट मेलम्ची बगेकाले यी पुलको क्षतिको अवस्था यकिन छैन ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्