काठमाडौं । कुमारी बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको साधारणसभाले सामान्य प्रस्तावका रूपमा पेस गरिएको आव २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आव २०७८÷७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पनि पारित गरेको जनाइएको छ । त्यस्तै, आव २०७९÷८० का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।
आव २०७८÷७९ मा बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रहेको छ भने आव २०७९÷८० को प्रथम त्रैमाससम्म निक्षेप एक खर्ब ७३ अर्ब रुपैयाँ र कर्जा, सापटी तथा अधिविकर्ष एक खर्ब ६१ अर्ब रुपैयाँ तथा नाफा एक अर्ब १४ लाख रुपैयाँ रहेको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ९९ शाखा, ३४ एक्सटेन्सन काउन्टर तथा एक सय ९५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।