Logo
Logo

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की, अनुसन्धान गर्दै प्रहरी


6.4k
Shares

काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामको संस्थाको अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । धम्कीपूर्ण इमेल प्राप्त भएलगत्तै नेपाल प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ ।

धम्की प्राप्त गर्नेहरूमा प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत छन् । इमेलमा लेखिएको छ, ‘हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक तथा अस्थिर सरकारका कारण सत्तामा पुगेका व्यक्तिको हत्या गर्ने निर्णय गरेकोमा हामी दु:खी छौँ । तपाईँले १० दिनभित्र राजीनामा दिनुहोस्, नत्र मारिनुहुनेछ । राजीनामा दिएमा आक्रमण हुने छैन ।’

पाठकले भदौ २४ गते कारागारबाट भागेका कैदीहरूलाई प्रयोग गरेर आक्रमण गर्ने र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने उल्लेख गरेका छन् । पाठक विदेशमा भएको आशङ्का प्रहरीको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहित विभिन्न गुप्तचर युनिटले पाठकको खोजी तीव्र बनाएका छन् ।

इमेल पठाउने व्यक्ति नेपालमा नभएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । फेसबुकमा खुलेआम धम्की दिने भिडियोप्रकाश पाठकले आफ्नो फेसबुक पेजमा एउटा भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियोमा उनले आफू ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष रहेको र १० जनाको हत्या योजना बनाएको खुलेआम स्वीकार गरेका छन् ।

उनले  फेसबुकमा भनेका छन्, ‘मैले दिएको १० दिनको अल्टिमेटम सकिनुअघि नै प्रेम राईलाई सिद्ध्याउँछौँ । राजीनामा दिनुको सट्टा उनले मेरो केटाहरूलाई पक्राउ गर्न लगाएका छन् । यदि यस्तै गरिरहने हो भने उनको आयु धेरै लामो छैन । म जुन–जुन ठाउँमा भारतमा बसेको थिएँ, त्यहाँ–त्यहाँ नेपाली प्रहरीले भारतीय प्रहरी लगाएर छापा मार्‍यो । तर म अहिले अति गोप्य ठाउँमा छु । एक घण्टामा चारवटा ठाउँ बदल्छु । मलाई पक्राउ गर्नु सम्भव छैन । प्रेम राईले आफ्नो ज्यानको सुरक्षा गरे हुन्छ ।’

हालसम्म प्रकाश पाठकले नेतृत्व गरेको भनिएको समूहको वास्तविक आकार, संरचना र गतिविधिबारे प्रहरीलाई ठोस जानकारी प्राप्त भएको छैन । तर पछिल्ला दिनमा उनले सामाजिक सञ्जालमार्फत खुलेआम दिएको धम्कीले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्