Logo
Logo

मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् ।

यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो । निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेपछि मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । बैठक ११ बजे बस्दैछ ।

बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले बताए । नागरिक उन्मुक्ति पार्टीबाट आज एक मन्त्री थप्ने सम्भावना रहेको रावलको भनाइ छ ।

नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।

गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्र भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्