Logo
Logo

एसपीमाथि यौनकाण्डको आरोप


2.1k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराह र इलामका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेसँगै उनीहरूको गल्तीबारे केलाउने कोसिस शुरु भएको छ । उपनिर्वाचन सम्पन्न गरेर बसेका जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई एक्कासी मुख्यालय बोलाइएको थियो । खतिवडाको सरुवा भएपछि एसपी प्रभु ढकालको काज सरुवा गरिएको छ ।

यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । चैत २३ गते सर्लाहीबाट दयानिधि ज्ञवाली, धनुषाबाट मित्रबन्धु शर्मा र महोत्तरीबाट श्यामकुमार राईलाई तानिएको थियो । मधेश प्रदेशका ८ जिल्लाहरू एसपीका लागि ‘आकर्षक’ मानिन्छन् ।

अनियमितता र आचरण सम्बन्धी प्रश्न उठेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति हुने गरेको छ । एसपीसम्मको सरुवा आईजीपीले गर्छन् । सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउन नपाउने र हटाउन परे कारण दिइनुपर्ने नियमावलीको व्यवस्था छ ।

अन्यको सरुवामा कारण नभएपनि खतिवडा र आचार्यको सरुवामा भने कारण रहेको छ । इलामस्थित एक प्रहरीका अनुसार राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको घरबार विगार्ने काममा एसपी खतिवडा लागेकाले उनको सरुवा गरिएको थियो । ‘एसपी बासुदेव खतिवडा यतिबेला प्रहरी कष्टडीमा हुनुपर्ने तर, राष्ट्रिय अनुसन्धान विभागकै अर्का एसपी तुलसी प्रसाईले मिलाईदिएपछि जागिर जोगिएको छ’, इलामस्थित एक प्रहरी कर्मचारीले भने ।

घट्ना विवरणअनुसार इलाममा केहीदिन अघि एक जलविद्युत कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा ती कर्मचारीकै श्रीमानलाई दोषी देखाउने काममा राअबिकै एसपी प्रसाई लागे । त्यसपछि कर्मचारीसँग सम्बन्ध विच्छेद गराई खतिवडालाई उन्मुक्ति दिइयो । ‘इलामकै एक हाइड्रोपावर कम्पनीमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको घटनाक्रमले प्रदेश प्रहरी प्रमुखलाई समेत अप्ठेरो पर्ने भएपछि एसपी खतिवडालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । उनी यस्ता धेरै घटनाहरूमा जोडिएका छन्’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार एसपी खतिवडा दिउँसै मदिरापान गरेर इलाम बजारमा घुम्ने र प्रहरी कर्मचारीलाई हप्काउने तथा व्यापारीहरूलाई पनि धम्क्याउने गरेको गुनासो पनि प्रहरी प्रधान कार्यालयमा आएको थियो । तर, पछिल्लो पटक चाँहि एक महिला कर्मचारीमाथि भएको दुव्र्यवहार नै सरुवा गर्नुको प्रमुख कारण रहेको छ ।

यो विषयमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले पनि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै आइजीपी वसन्त कुँवरलाई रिपोटिङ गरेका छन् ।

त्यसैगरी सिराहाको भने अवस्था अलि फरक रहेको छ । सिराहको एसपीलाई भने त्यहाँका तस्करहरूले सरुवा गर्न सफल भएको स्रोतको दाबी छ । तस्करको एक समूहले गृहमन्त्री रवि लामिछानेको सचिवालयमा रहेका दीपक बोहोरालाई भेटेपछि एसपी सन्तोष आचार्यको सरुवा भएको हो । नेपाल र भारत सीमा खुला रहेको हुँदा तस्करहरू सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका थिए ।

उनी त्यहाँ गएको तीन महिना पनि नपुगेको अवस्थामा ईलाका प्रहरी प्रमुख, प्रहरी चौकीका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरूलाई तस्करविरुद्ध खरो उत्रिन निर्देशनसमेत दिएका थिए ।

एसपी आचार्यले तस्करविरुद्ध कठोर बन्न निर्देशन दिएपछि नेपाल प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएका थिए । पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान नियन्त्रणमा आउने गरेका छन् । सिरहामा करीब १७ लाख ९० हजार मुल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लाहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२–०१–००२ प.८६०२नम्बरको स्कुटीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले तस्करहरूलाई केही समयदेखि निगरानीमा राखेकै कारण त्यहाँका तस्करहरूको समूहले नै गृहमन्त्रीका स्वकीय सचिवसमेत रहेका बोहोरालाई भेटेर उल्टै तस्करी बढाएको पोल सुनाएका थिए ।

जसले गर्दा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर, प्रहरी प्रधान कार्यालयले भने स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि छानबिन गर्नुपरेकाले सरुवा गरेको जनाएको छ । उनले पक्राउ गरेको सामान पनि नरेश साहसँगको मिलेमतो रहेको उजुरी परेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिनेविरुद्ध कडा कारबाही गर्ने बताइरहेका छन् । यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । शर्मालाई सिन्धुलीका सिडियो भरत खनालको दबाबमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्