Logo
Logo

सुनकोशी मरिन डाइभर्सन सुरुङ ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीले भने- यसले ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सिन्धुलीमा आयोजित एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रुरु’ गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए । उनले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने समेत विश्वास व्यक्त गरे ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागद्वारा निर्मित सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रुको बुधबार ताम्रापत्र घुम्तो उघार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर/रासस

प्रधानमन्त्री प्रचण्डले भने, ‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिंचाइ सुविधा पुग्नेछ । यो राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ ।’ उनले सुरूङको ‘ब्रेक थ्रु’ भएको र अब आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुने बताए ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘सुरूङमार्गको ब्रेक थु्र सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिंचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न पनि उनले अपिल गरे ।

यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिंचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्रीे जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पु¥याउने छ । हाल सिंचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिूचाइ सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्