Logo
Logo

१ अर्बभन्दा बढीको सियो आयात



काठमाडौं । नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ ।

यो उखान आजको दिनसम्म पनि सत्य हो । वास्तवमा नै आजको दिनसम्म नेपालमा सियो उत्पादन गर्ने उद्योग स्थापना भएको छैन । नेपालमा ठूलाठूला उद्योग स्थापना हुने क्रम जारी छ । तर, एउटा सामान्य सियो उत्पादन गर्ने उद्योग हालसम्म स्थापना भएको छैन । साथै, त्यस्ता उद्योग स्थापनामा गर्नमा सरकार तथा निजीक्षेत्रले पनि वास्ता गरेका छैनन् ।

नेपालमा आवश्यक पर्ने कुनै पनि प्रकारको सियो विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको छ । विशेषगरी नेपाल र भारतदेखि यसको आयात गर्ने गरिन्छ, जुन पछिल्ला वर्षहरूमा बढ्दै पनि गएको छ । गत आवमा मात्र नेपालमा रू. १ अर्ब १३ करोड ८६ लाख ७२ रुपैयाँको सियो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा उल्लिखित बराबरको सियो आयात भएको हो, जुन अघिल्लो आवको तुलनामा करीब २७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७६/७७ मा ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँको सियो आयात भएको थियो ।

गत आवमा ३ करोड ४४ लाख ६७ हजारको कपडा सिलाउने सियो आयात भएको छ । अस्पतालमा प्रयोग हुने सियोको आयात भने अत्यधिक मात्रामा हुने गर्छ । गत आवमा रू. १ अर्ब १० करोड ४२ लाख बराबरको अस्पतालमा प्रयोग हुने सियोको आयात भएको छ ।

अघिल्लो आवमा भने रू. ३ करोड ५४ लाख २६ हजारको कपडा सिलाउने सियो आयात भएको थियो । अस्पतालका लागि भने रू. ८६ करोड २४ लाख २८ हजारको सियो आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले मेडिकल क्षेत्रमा प्रयोग हुने सियोको आयात उच्च मात्रामा हुने गरेको बताए ।

साथै, कपडा बुन्ने सियोको आयात पनि हुँदै आएको उनको भनाइ छ । समग्रमा यस्ता सियो नेपालमा उत्पादन नहुँदा आयात गर्नु परेको उनको भनाइ छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्