काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार (असोज १७)देखि पर्साको वीरगन्जमा सुरु भएको छ । वीरगन्जको ओम पार्टी प्यालेसमा महाधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले जानकारी दिए ।

महाधिवेशन यसअघि यही असोज ९ र १० गते गर्ने गरी तय गरिएको थियो । तर, भारी वर्षा र बाढीपहिरोको जोखिमका कारण स्थगन गरी आजका निम्ति तोकिएको हो ।
महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यकारिणी समिति चयनका निम्ति कुल १०३ जनाको मनोनयनपत्र दर्ता भएको छ । पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको मात्र एकल उमेदवारी परेकाले उनी पुनः निर्विरोध निर्वाचित भएको घोषणा गरिने निश्चित छ ।
महाधिवेशनमा दुई हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।













