Logo
Logo

छापामाध्यम संकटमा रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष



काठमाडाैं । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले छापा माध्यम संकटमा रहेको निष्कर्ष निकालेको छ ।

सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, महासचिव किशोर श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतकाे टाेलीले प्रविधिको विकासका कारण छापा माध्यम संकटमा परेको भन्दै अध्ययनको निष्कर्ष निकालेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई प्रतिवेदन हस्तान्तरण गर्दै सञ्जालले छापा माध्यमलाई अप्ठ्यारो परिस्थितिबाट माथि उकास्न समेत सरकारलाई सुझाव दिएको छ ।

प्रतिवेदनमा लोपोन्मुख हुँदै गएको छापामाध्यमको सङ्कट समाधानका उपाय पहिचान गरी संरक्षण र प्रबद्र्धनका लागि चाल्नुपर्ने आवश्यक कदमबारे सुझाव समेटिएको छ ।

प्रतिवेदनमा देशभरका पत्रपत्रिकाको मौजुदा अवस्था, पत्रपत्रिका निकाल्दाका कठिनाई, छपाइ, वितरण, बजार, विज्ञापनको अवस्थाबारे विश्लेषण गरिएको छ ।

पत्रपत्रिकाको लागि छपाई कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कट, संरक्षणका लागि राज्यतहबाट स्पष्ट नीति एवम् राहत प्याकेजको अभावले ऐतिहासिक महत्व बोकेका यस्ता सञ्चारमाध्यमहरू लोपोन्मुख अवस्थामा पुगेको भन्दै चिन्ता जनाइएको छ ।

प्रतिवेदन लिँदै मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले अध्ययन प्रतिवेदनमा दिइएको सुझाव अध्ययन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिवेदन हस्तान्तरणलगत्तै सञ्जालका महासचिव किशोर श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतद्वारा जारी संयुक्त विज्ञप्तिमा मुलुकको वर्तमान छापामाध्यमको अवस्थाबारे जानकारी गराइएको छ । विज्ञप्तिमा अहिले छापा माध्यमले जटिल परिस्थितिको सामना गरिरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्