
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् ।
एमाले झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरे ।
उनले निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाडेको बताए । ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भीरभीर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ,’ ओलीले भने ।
नेकपा एमाले विभाजनअघि ओलीले आफ्नो पार्टीका १४ सांसदलाई ह्वीप उल्लंघनको आरोपमा दलबाट निष्कासन गरी संसद सचिवालयमा जानकारी गराएका थिए । तर सभामुखले नेकपा एकीकृत दर्ता भइसकेपछि ती सांसदहरुलाई कारबाही गर्न नपर्ने भनी निर्णय दिएका थिए ।











