
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका हुन्।
पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताए । प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ ।
नेपाल र भारतबीच सीमा समस्याबारे दुवै पक्षबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताए । यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्नेमा उल्टै नेपालको दाबी कमजोर पार्ने अभिव्यक्ति दिएको उनको भनाइ छ । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाल–भारतबीच रहेका समस्याहरू, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।
प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्शा राखेर सन्देश दिन खोजेको प्रसंग उल्लेख गर्दै पोखरेलले अहिलेको मुख्य दायित्व नेपालको वर्तमान सीमाङ्कनलाई सुरक्षित गर्नु रहेको बताए । ग्रेटर नेपालको विषय इतिहाससँग जोडिएको भएपनि पछिल्लो समयको सीमाङ्कनको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ । यसैगरी पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति पनि आलोचना गरे । आफ्नै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने उनको टिप्पणी छ ।
उनले भने, ‘प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद र राजनीतिक दलहरूले आपत्ति जनाइसकेका छन् । उहाँले तेस्रो पक्षको उपस्थितिसम्बन्धी अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छैन । नेपाल–भारतबीचको सीमा समस्या दुवै देशका दस्तावेजमा अभिलेखित विषय भएकाले यसको समाधानमा सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्छ । प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुनेछ भन्ने अपेक्षा छ । त्यसैगरी, प्रधानमन्त्रीको राजनीतिक कार्यशैली लोकतान्त्रिक र संवादमुखी देखिएको छैन । आफ्नै पार्टीसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षसँग संवादको अपेक्षा गर्न कठिन छ । उहाँको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।’
प्रधानमन्त्रीको कार्यशैली स्वाभाविक रूपमा लोकतान्त्रिक नभएको भन्दै उनले त्यसलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादीको संज्ञा दिए । लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै नेता पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे ।


















