Logo
Logo

दार्चुला घटनामा भारतीय एसएसबी दोषी : छानविन समिति



काठमाडौं । दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ ।

गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गर्दै मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।

पीडितको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिस समेत गरेको छ ।

 ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेको थियो । 

छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । 

प्रतिक्रिया दिनुहोस्