Logo
Logo

विवेकशील साझाको छुट्टाछुट्टै बैठक बस्दै, एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी



काठमाडौं । विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् ।

विवेकशील साझाका प्रवक्ता शरद राज पाठकका अनुसार दुवै बैठक भर्चुअल माध्यमबाट हुनेछ । अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ ।

यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बताइको छ ।

मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्