Logo
Logo

मुख्यमन्त्रीमा भीम आचार्यको नियुक्ति बदर गर्न गठबन्धनको माग



विराटनगर । प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेकाे छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपुर्ण निर्णय नगर्न तथा मन्त्रिपरिषद विस्तार नगर्नसमेत माग गरेको हाे । 

एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) दललाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै आफूहरूको बहुमत पुगेको भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको गठबन्धनको आरोप छ । प्रदेशका सांसद रहेका नेताहरूलेसमेत आयोगमा गएर हस्ताक्षर गरिसकेपछि मुख्यमन्त्री नियुक्ती गर्नु गलत भएको गठबन्धनको ठहर छ ।

प्रदेशमा एकीकृत समाजवादी दलका सांसदहरुले आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाउने जनाएका छन् । बुधबारमात्रै प्रदेश निर्वाचन आयोगमा १० जना सांसदले एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका छन् । 

उनीहरुलाई आयोगले यहि २२ भदौसम्मको म्याद दिएको छ । आचार्य १० भदौमा मुख्यमन्त्री भएका थिए । उनले दुई सदस्य मन्त्रिमन्डलसमेत गठन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्