Logo
Logo

भू–उपग्रह युगमा नेपाल


- दृष्टि न्युज/संवाददाता


नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक अन्तरिक्षमा पुगेसँगै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भू–उपग्रहलाई नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अर्बिटल–ए टिकेले अन्तरिक्षतर्फ पठाएको थियो । अमेरिकाको भर्जिनियास्थित नासाको ‘मिड–एट्लान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट ए–टिकेले अन्तरिक्षतर्फ प्रक्षेपण गरेको नेपाली झन्डासहितको सो भू–उपग्रह शुक्रबार दिउँसो साढे ३ बजे आईएसएसमा सुरक्षित डकिङ गरेको छ । अब त्यसलाई अन्तरिक्षमा पृथ्वीको गुरुत्वाकर्षण कक्ष क्षेत्रभित्र भू–उपग्रह र अन्तरिक्ष कक्षको गतिबीचको तालमेलका आधारमा अन्तरिक्षयात्रीले उचित समयमा छाड्नेछन् गर्नेछन् । नास्टका अनुसार जुनको पहिलो सातासम्ममा नेपाली भू–उपग्रह अन्तरिक्षबाट पृथ्वीको कक्षमा छाडिनेछ ।

संसारका कयौँ देशले व्यवसायिक प्रयोजनका लागि समेत ठूलठूला भू–उपग्रह पृथ्वीको कक्षबाहिर पठाइसकेका बेला हामी बल्ल यो अभियानमा जुटेका छौँ । हामीले अबको युग विज्ञान प्रविधिको हो भन्न थालेको पनि वर्षौं भइसकेको छ । तर, यसअघिका कुनै पनि सरकारले विज्ञान र प्रविधिको क्षेत्र अनिवार्यतालाई बुझ्न सकेनन् । जसकार कारण, २१औँ सताब्दीको दोस्रो दशक टेक्ना लाग्दा हामी सानो आकारको भू–उपग्रह अन्तरिक्षमा पठाउँदासमेत ठूलो खुसी मनाउन बाध्य भएका छौँ । मनग्गे प्राकृतिक साधनस्रोत र जनशक्ति हुँदा हुँदै पनि अघिल्ला शासकहरूको असक्षमता र अज्ञानताको कारण कयौँ क्षेत्रमा पछि परेका हामी बल्ल तंग्रिने कोशिश गरिरहेका छौँ । अवश्य पनि सानो आकारको र थोरै आयु भएको सो भू–उपग्रहबाट ठूला अपेक्षा गर्न सकिँदैन । तर, दैनिक मौसम र विपद्सम्बन्धी पूर्वजानकारी र जलवायु परिवर्तनबारे अध्ययनमा यसले ठूलो सहयोग पु¥याउनेछ । त्यसमाथि प्राकृतिक विपत् र जलवायु परिवर्तनका कारण आकस्मिक रूपमा आइलाग्ने विपत्बाट जोगिन यस्ता अध्ययन कारगर सावित हुने गर्छन् । विपत्को पूर्वजानकारी नहुँदा नै केही साताअघि बारा र पर्सामा आएको विनाशकारी ‘टर्नेडो’बाट ठूलो मानवीय र भौतिक क्षति हुन पुग्यो । समयमै त्यस्तो विपत्का सूचना पाउन सकेको भए, धेरैको ज्यान जोगिनसक्थ्यो, कम भौतिक क्षति हुन सक्थ्यो ।

यसर्थ, यो ऐतिहासिक र उत्सवपूर्ण उपलब्धिमा सिंगो मूलुकले खुसी व्यक्त गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओली विशेष धन्यवादका पात्र हुन्, जसले नेपाललाई भू–उपग्रहमा जोड्ने अभियानलाई उच्च प्राथमिकता दिए । अबको समय प्रविधि र पुँजीको हो भन्ने कुरालाई व्यवहारतः प्रयोगमा ल्याउने उनको प्रयास वास्तवमै सराहनीय छ । यो उपलब्धिमा स्वयम् प्रधानमन्त्री कति खुसी थिए भन्ने कुरा बिहीबार झिसमिसेमै उनले गरेको ट्वीटबाट पनि थाहा हुन्छ । उनले प्रधानमन्त्री र व्यक्तिगत दुवै ट्वीटर ह्यान्डलबाट नेपाली र अंग्रेजीमा सन्देश दिँदै लेखेका थिए, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।’

दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेपछि का १३ महिनामा प्रधानमन्त्री ओलीले सबै क्षेत्रलाई उत्तिकै महत्वका साथ प्राथमिकता दिएका छन्, काम गरेका छन् । संविधानमा गरिएका व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउनेदेखि बहुसंख्यक मजदुरको आर्थिक भविष्य सुनिश्चित गर्न योगदानका आधारमा सामाजिक सुरक्षाको प्रवन्ध गर्नेसम्म, मुलुकभित्र बाह्य लगानीको वातावरण निर्माणदेखि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजनासम्म, कांग्रेसले जीर्ण अवस्थामा पु¥याएको अर्थतन्त्रको सुधारदेखि जेष्ठ नागरिकको जीवन सुरक्षाका लागि बीमासम्मका काम ओली नेतृत्वको सरकारले गरेको छ । युवा जनशक्तिको दक्षता अभिवृद्धिदेखि विज्ञान र प्रविधिको क्षेत्रमा अब्बल बनेर संसारभर छरिएका नेपाली वैज्ञानिकहरूलाई अब मुलुक निर्माण हुँदैछ, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने आत्मविश्वास पैदा गर्नसमेत ओली सरकार सफल भएको छ । यसर्थ, सरकारको यो प्रयास निकै सराहनीय छ । अब ओली सरकारले आगामी बजेटमार्फत् विज्ञान प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ भन्ने कुरा पुष्टि गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्