काठमाडौं । नेपाल वायुसेवा निगममा ‘आगो झोसेर’ डेढ महिनादेखि भाग्दै हिँडेका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थमन्त्रालयमा गएर निगम डुब्नुको कारण ‘ओभर स्टाफ’ हो भनेका छन् । उनले आफ्नो कमजोरी लुकाउन निगमबाट पाँच सय जना कर्मचारी हटाउन प्रस्ताव गरेका छन् ।
महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडेलमा लगेर निगमको शेयर बेच्ने निर्णय गरेपछि निगमका कर्मचारीहरु डेढ महिनादेखि आन्दोलनरत छन् । आन्दोलनरत कर्मचारीलाई मानसिक दबाब दिन उनले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’समक्ष निगमका पाँच सय कर्मचारी हटाउन प्रस्ताव गरेका हुन् ।

निगमको व्यवस्थापन सुधार गर्न तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले उनलाई गत असोज २२ गते महाप्रबन्धक पदमा नियुक्त गरे पनि व्यवस्थापन सुधारमा उनले कुनै ध्यान नै दिएनन् । उनको ध्यान निगम व्यवस्थापन सुधारमा भन्दा कमिशनमै केन्द्रित भयो । त्यतिले नपुगेर विदेशमा रहेका कर्मचारीहरुको सेवा, सुविधा कटौती गरेर आफ्नो तलब दोब्बर बनाए । यसबाट पनि उनको नियत प्रष्ट हुन्छ ।
निगमलाई चुस्तदुरुस्त रुपमा सञ्चालन गर्न सबैभन्दा पहिला पौडेललाई महाप्रबन्धकबाट हटाउनुपर्छ । किनभने, उनलाई सरकारले निगम बेचेर अर्बौ कमिशन खान महाप्रबन्धक नियुक्त गरेको होइन । अर्बौ घाटामा गएको निगम व्यवस्थापन सुधार गर्न पठाएको हो । तर, उनको एघार महिना कार्यकालमा उनले सुधारको नाममा ‘सु’ पनि गरेनन् ।
निगमलाई कम्पनी मोडेलमा लैजाने विषयमा धेरै वर्षदेखि कमिटी गठन हुँदै आएको छ । त्यस विषयमा विस्तृत अध्ययन नै नगरी पर्यटनमन्त्री, निगमको अध्यक्ष खाली भएको बेला पारेर उनले हतार हतार सहसचिव बुद्धिसागर लामिछानेलाई नक्कली अध्यक्ष बनाएर निगमलाई कम्पनीमा लैजाने निर्णय बोर्डबाट पास गरेपछि यो विवाद उत्पन्न भएको हो ।
त्यसमाथि कोभिडका कारण विश्वभरका एयरलाइन्स कम्पनीहरु घाटामा गएका छन् । कोभिडका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको छ । यस्तो बेला निगमको शेयर किन्न न त कुनै गतिलो विदेशी कम्पनी आउँछ, न त नेपाली लगानीकर्ताले जोखिम मोलेर शेयर नै किन्छ ।
त्यो कुरा जानीजानी रातारात निगमलाई यही मौकामा कम्पनीमा लैजानु भनेको निगमको सम्पत्ति कौडीको भाउमा बेचेर अर्बौ कमिशन खानेबाहेक अरु केही होइन भन्ने कुरा पर्यटन व्यवसायीहरु बताउँछन् ।












