Logo
Logo

प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे । राणाको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए ।

राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणपछि उहाँ नियमितरूपमा डायलायसिस गर्दै भएका थिउ । एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइएपनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको थियो ।

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिउ । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए । कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्