Logo
Logo

एमसीसीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा



काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

उनले सोमबार अर्थात २८ भदौमा काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिएका छन् ।

विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए । एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने उनले बताए ।

बिश्वकर्माले युरोपियन अमेरिकन युनियन लगाएत बिदेशी शक्तिसंगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाए । राजनीतिक दलका नेताहरूका कारण देश संकटको भुमरीमा फसेकाले नै आफुहरु बाहिर आउनुपरेको उनको धारणा थियो ।

यस्तै, एक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफुहरु तयार रहेको बताए । विश्वकर्माले सरकारसंग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्