Logo
Logo

प्रदेशसभा सचिवालयलाई दलको नेता चयन गरेको जानकारी



विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको प्रदेशसभा सचिवालयलाई जानकारी दिएको छ ।

सोमबार एकीकृत समाजवादी दलको तर्फबाट सावित्री कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र हस्तान्तरण गरेकी हुन् । आजै बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको थियो ।

उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ । बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्