Logo
Logo

डडेलधुरा अधिवेशन पुनः गर्नुपर्ने पौडेल पक्षको माग, देउवा पक्ष भन्छन्-औचित्य छैन



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नेतृत्वका कारण १४ औं महाधिवेशन निष्पक्ष ढंगले हुनेमा शंका व्यक्त गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनमा नै नेतृत्व तहबाट दबाब दिने र शक्तिको आडमा मनपरी गर्ने क्रम चलेको भन्दै महाधिवेशन निष्पक्ष हुनेमा नै शंका व्यक्त गरे ।

सोमबार आफूपक्षीय नेताहरूको बैठकपछि सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भनेर आफ्नै जिल्लाबाट विश्वास दिलाउन नसकेको बताए ।

उनले डडेलधुराको वडा अधिवेशनमा धाँधली भएको भन्दै पुनः अधिवेशन गर्नुपर्ने माग राखे ।

’डडेलधुरामा जसरी वडा अधिवेशनबारे हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो’, पौडेलले भनेका छन्, ’त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा शंका बढाएको छ। त्यहाँ फेरि चुनाव गराउनुपर्छ। हामीलाई ’फेक’ चुनाव मान्य छैन। निर्वाचन समितिले त्यसलाई मान्यता दिनुहुँदैन।’

डडेलधुरामा भएको के हो ?

कांग्रेसको आसन्न महाधिवेशन अन्तर्गत ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । यसैबीच २५ भदौमा डडेलधुरामा पनि वडा अधिवेशन सम्पन्न भयो । तर, उक्त वडा अधिवेशन जिल्ला सभापति कृष्णबहादुर मल्लको असन्तुष्टी थियो ।

क्रियाशील सदस्यताका नाममा गैर राजनीतिक व्यक्तिलाई समावेश गरेको र नेतृत्वको दबाबमा प्रक्रियासंगत ढंगले आएको नाम पनि थपघट गरिएको भन्दै मल्लले विज्ञप्ति नै जारी गरेर असन्तुष्टी जनाए ।

डडेल्धुराबाट पठाइएका पाँच सय जना क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाटै सिधै करिब तीन सय जनाको नाम थपेर क्रियाशील सदस्यताको अन्तिम सूची पठाएको भन्दै जिल्ला सभापति मल्ल लगायतले विरोध गरे ।

उनको असन्तुष्टीमा सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेका नेता एवं उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेलले असन्तुष्टी जनाउँदै सभापति शेरबहादुर देउवाको ध्यानााकर्षण गराएका थिए ।

डडेलधुरा, सभापति देउवाको गृहजिल्ला भएकाले उनैबाट धाँधली भएको आरोप नेता/कायकर्ताले लगाइरहँदा शुक्रबार प्रहरीको उपस्थितिमा अधिवेशन आयोजना गरियो ।

५२ वटै वडामा बाहिरी जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याएर एकपक्षीय अधिवेशन भएकाले अमान्य भएको पौडेल पक्षको निचोड छ । पौडेल पक्षले अधिवेशन हुँदै सिंगो पार्टी नै कब्जा गर्ने देउवाको रणनीति भएको आरोप समेत लगाएको छ ।

फेरि अधिवेशन नहुने देउवा पक्षको अडान
यता, देउवा निकट नेताहरूले भने क्रियाशील सदस्यताको विवाद कार्यदलले टुंग्याएकाले फेरि वडा अधिवेशन गर्नुको औचित्य नभएको बताउन थालेका छन् । अधिवेशनमा पौडेल पक्षका समेत नेताहरू सहभागी भएकाले अधिवेशन दोहोर्‍याएर गर्नुको तुक नरहेको बताउँछन् ।

पछिल्लो पटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो ।

जस अनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्