Logo
Logo

देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्न थालेको छ ।

पौडेल पक्षले सोमबार बोलाएको केन्द्रीय सदस्यको बैठकले देउवाको गृह जिल्ला डडेलधुरामा यही भदौ २५ गते गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशनको माग गरेको छ । डडेलधुरामा भदौ २५ गते गरिएको अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा, मूल्य र परम्पराको खिल्ली उडाएको निष्कर्ष पौडेल पक्षको बैठकले निकालेको छ  ।

डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ । कांग्रेसले गत भदौ १८ गते देशभर एकै पटक ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

भदौ १८ गते हुन नसकेका वडाको अधिवेशन भदौ २५ सम्ममा गरिएको थियो । २० जिल्लाको वडा अधिवेशन भने अझै हुन सकेको छैन ।

ती जिल्लामा क्रियाशील सदस्यता टुंगो लाग्न नसकेपछि वडा अधिवेशन हुन नसकेको हो । ती जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको छ । ७७ जिल्लामा एकै पटक वडा अधिवेशन हुन नसकेपछि पालिका तहमा हुने भनिएको अधिवेशन पनि प्रभावित भएको छ । भदौ २७ गते तय गरिएको पालिका तहको अधिवेशन असोज ९ मा पुर्‍याइएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्