Logo
Logo

निपा भाइरस फैलाउने चमेरो नेपालमै



काठमाडौं । नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो नेपालमा पाइएको छ । त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ ।

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ । ‘काठमाडौं उपत्यकाको केशरमहलमा समेत यो प्रजातिको चमेरो प्रशस्तै देखिन्छ,’ उनले भने । निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ । मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ । यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ ।

उक्त प्रजातिको चमेराले टोेकेको फलफूल राम्रोसँग नपखाली खाएको अवस्थामा यो भाइरस मानिसमा सर्छ । संक्रमित व्यक्तिका दिशा, पिसाब, थुक, पसिना, रगत आदिबाट समेत अन्य व्यक्तिमा यो भाइरस सर्ने गर्छ । बंगुर व्यवसायीहरू त यो संक्रमणको झनै जोखिममा हु्न्छन् ।

नेपालमा निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो रहेको बारे धेरै वर्षपहिले नै अनुसन्धान भइसकेको थियो । सन् २०१९ मा गरिएको अनुसन्धानअनुसार दाङ, सप्तरी, सुनसरी, मोरङ, झापा, कास्की, नवलपरासीलगायत जिल्लामा यो प्रजातिको चमेरो पाइन्छ । चमेरोबाट बंगुरमा सर्ने र यी जिल्ला बंगुर पालनको मुख्य थलो भएकाले नेपाल यो भाइरसको उच्च जोखिममा रहेको डा. पुनले बताए ।

अहिले भारतमा निपा भाइरस संक्रमितको संख्या बढिरहेको छ । ‘भारतको केरला प्रदेशमा नेपालबाट पढ्न जाने विद्यार्थीको आउजाउ बाक्लो हुन्छ, अन्य प्रदेशबाट पनि आउजाउ भइरहन्छ,’ उनले भने, ‘यसले गर्दा पनि नेपालमा जोखिम धेरै छ ।’नेपाल र भारतका नागरिक नियमित रूपमा एक देशबाट अर्कोमा आवतजावत हुनु र नेपालबाट नजिकै रहेको पश्चिम बंगालको सिलिगुढीमा पहिल्यै निपा भाइरस देखिनुजस्ता कारणले नेपाल सो भाइरसको उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्