Logo
Logo

स्वदेशी उद्योगलाई प्रोत्साहन हुने व्यवस्थाहरु परिवर्तन हुँदैनन् : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अडान व्यक्त गरेका छन् ।

आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने बताएका हुन् । ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु । स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन’, अर्थमन्त्री शर्माले भने ।

आयातमा आधारित राजश्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजश्व बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री शर्माले यसतर्फ थप सक्रियताका साथ काम गर्न निर्देशन दिए । करका दरसम्बन्धी थप सुधारका कामहरु ‘कर पुनरावलोकन आयोग गठन’ गरेर सम्पन्न गरिने मन्त्री शर्माको भनाइ रहेको छ ।

यसअघि आफूले आन्तरिक राजश्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेकोमा चित्त दुखाउदै मन्त्री शर्माले भने ‘यो मैले जानी जानी भनेको हो, भाषण गर्नलाई भनेको हैन । मैले योजना माग गरेको हुँ, त्यो योजना अहिलेसम्म पनि आएन ।’ मुलुकको आन्तरिक राजश्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै मन्त्री शर्माले त्यसको योजना पेश गर्न पुनः ताकेता गरे ।

प्रतिक्रिया दिनुहोस्