Logo
Logo

सत्तारुढ गठबन्धन दलबीच छलफल, बाबुरामले दिए देउवालाई सुझाव



काठमाडौं । सरकारलाई पूर्णता दिने विषयमा बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच सुझाव दिएका छन् ।

बालुवाटारमा साँझ गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा भएको छलफलमा अध्यक्ष भट्टराईले अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिनुपर्ने सुझाव दिएका हुन् । उनले राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्नुपर्ने समेत देउवालाई सुझाएका छन् ।

गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने समेत भट्टराईको भनाइ थियो ।

भट्टराईले जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्नेमा समेत गठबन्धनको ध्यानाकर्षण गराएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अहिले पनि जारी रहेको र त्यसले थप पार्टीमा फुट ल्याउन सक्ने विषयलाई आकलन गर्दै जसपाले प्रधानमन्त्री देउवालाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । अध्यादेशको छिनोफानो नभएसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्ने जसपाको अडान छ ।

बिहीबारको बैठकमा पनि दलहरूबीच मन्त्री टुंग्याउने विषयमा सहमति जुट्न नसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्