Logo
Logo

विद्यालय सबै बन्द, शिक्षकहरू राजनीतिमा मस्त


हिक्मत बम


बाजुरा । सामुदायिक विद्यालयका शिक्षकहरुलाई सधैं लाग्दै आएको आरोप हो, उनीहरु कक्षाकोठा सुधारमा भन्दा राजनीतिक दलका गतिविधिमा बढी केन्द्रित हुन्छन् । नेपाली कांग्रेसको भर्खरै सम्पन्न वडा गाउँ, नगर, प्रदेश हुँदै जिल्ला अधिवेशनमा धेरै शिक्षकले यो आरोपलाई सत्य सावित गरेका छन् ।

बाजुरामा मात्रै २५ जनाभन्दा बढी शिक्षक क्षेत्रीय प्रतिनीधीको रुपमा जिल्ला केन्द्रित भएका छन् । बाजुरा जिल्लामा मात्रै दर्जनौं शिक्षकले जिल्ला प्रतिनिधीको रुपमा आएको र जितेको भन्दै आफै सामाजिक सञ्जाल रङग्याएका छन् । अन्य जिल्लाहरुमा पनि धेरै शिक्षक कांग्रेसको चुनावमा उम्मेद्वार मात्रै बनेनन्, चुनावै जितेका छन् । तर बाजुरामा शिक्षकहरु प्रदेश प्रतिनिधी बनेर प्रदेश हँुदै जिल्ला अधिवेशनका लागि जिल्लामा पुगेका छन् ।

मस्टेश्वरी माविका शिक्षक खड्कराज जोशी, नाटेश्वरी माविका शिक्षक प्रेमराज पाध्याय, रत्न माविका प्रअ रतन ऐडी, थुमा माविका प्रअ पुर्णबहादुर खाती, जनप्रकाश माविका प्रअ अनोजराज गिरी, स्वरोस्वती आधारभूत विद्यालयका प्रअ हस्तबहादुर धामीलगायत जिल्लाका २५ जना भन्दा बढी शिक्षक जिल्लामा मतदान गर्ने गरी प्रतिनिधी छनोट भएर आएका देखिन्छन् ।

प्रतिनिधी भएर आएका शिक्षक अहिले कुन गुटलाई जिताउने भन्ने कसरतमा लागेका देखिन्छन् । कांग्रेसको वडा अधिवेशनदेखि नै शिक्षक कांग्रेसको अधिवेशनमा सक्रिय भएपछि विद्यार्थीहरुको पढाइमा बाधा भएको छ । एक अविभावकले भने कांग्रेसको वडा अधिवेशन ६ गते सुरु भएदेखि नै अहिलेसम्म विद्यालय नगएको बताएका छन् । जसले गर्दा विद्यार्थीको पढाइमा बाधा भएको छ ।

शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ । विध्यालयको शैक्षिक गतिविधिमा असर पुर्याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै सामाजिक अगुवाहरुले विरोध गरिरहेका छन् ।

कुनै पनि सरकारी कर्मचारीहरुले राजनीतिक रुपमा रङ देखाउनु सबैभन्दा गलत भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यसरी शिक्षकहरु कर्मचारीहरूले खुलेरै राजनीतिमा लाग्नु भनेकै आफ्नो पद र ओहदाको दुरुपयोग गर्न नमिल्ने प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्