सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन्।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन्। आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेका थिए।
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए।
हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवका अनुसार दम्पतीमाथि आक्रमणको कारण खुल्न सकेको छैन। यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता खुल्ने जानकारी दिए।


















