Logo
Logo

दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग



काठमाडौं । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ ।

दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो । वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिनुभयो ।

धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर (पृथ्वी राजमार्ग) र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर (नारायणगढ–मुग्लिन सडक) डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ । वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ ।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्