Logo
Logo

एनआरएनए महाधिवेशनमा दलीय हस्तक्षेप



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनमा घोषित रुपमै राजनीति हस्तक्षेप भएको छ । एनआरएनएको आसन्न दशौँ महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउने भूमिका खेल्न नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ । कांग्रेसको उक्त निर्णयसँगै एनआरएनएको महाधिवेशनमा खुला दलीय हस्तक्षेप भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पत्र पठाएका छन् । सो पत्रअनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियाना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । यसअघि कांग्रेसले एनआरएनएको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतान्त्रिक समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ ।
पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ । एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ । महाधिवेशन अगावै सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्