Logo
Logo

चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो


0
Shares

काठमाडौं । जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। यो जितसँगै ६ खेलबाट ३ जित र ३ हार बेहोरेको चितवन ७ अङ्कका साथ चौथो स्थानमा उक्लेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर भेटायो।

डेभिड मलानको सम्हालिन ब्याटिङ
सामान्य लक्ष्य पछ्याउने क्रममा पावर प्लेमै चितवनको ब्याटिङ धराशाइ भएको थियो। टोलीले पावर प्लेमा ४१ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। सुरुवातमै दबाबमा परेको चितवनको इनिङ्सलाई डेभिड मलानले सम्हाले।

चौथो ओभरमा २७ रन हुँदा क्रिजमा आएका मलानले धैर्यपूर्वक ब्याटिङ गर्दै टोलीलाई जितको आधार तयार पारे। उनले कुशल मल्लसँग ३० रनको साझेदारी गरे। तर, १३.२ ओभरमा विकेटकिपर सन्तोष कार्कीबाट क्याच हुँदै उनीहरूबीचको साझेदारी टुट्यो।

त्यसपछि पनि क्रिजमा डटेका मलानले अन्तिम बलमा छक्का प्रहार गर्दै चितवनको जित सुनिश्चित गरे। उनी ३५ रनमा अविजित रहे। चितवनका लागि कुशल मल्लले १५, रवि बोपाराले १३ र ओपनर कमिल मिस्राले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

जनकपुरका लागि राहुलले ३, ललितले २ र विशालले १ विकेट लिए।

जनकपुर सस्तोमै समेटियो
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो।

जनकपुरको सुरुआत पनि निकै खराब रह्यो। पावर प्लेमा ३ विकेट गुमाएर टोलीले जम्मा २३ रन मात्र जोड्न सकेको थियो। मध्यक्रममा कप्तान हर्मित सिंहले इनिङ्स उकास्ने प्रयास गरे। टोलीको स्कोर ४० रन हुँदा क्रिजमा आएका उनले २५ बलमा २ चौका र १ छक्काको मद्दतले २५ रन बनाए।

त्यस्तै, विशालले १५ र सन्तोष कार्कीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन्।

अन्तिम ओभरमा राहुलले अविजित १० रन बनाउँदै जनकपुरलाई यस सिजनको सबैभन्दा कम स्कोर (सुदूरपश्चिम रोयल्सको ८७ रन) बनाउने खराब कीर्तिमानबाट बचाए।

चितवनका लागि रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट लिए। कप्तान सिकन्दर राजा र कमिल मिस्राले समान २ तथा कमलसिंह ऐरी र रिजन ढकालले समान १ विकेट हात पारे।

यो हारसँगै जनकपुर प्लेअफ चरणबाट बाहिरिएको छ। ७ खेलमा ४ अङ्क मात्र जोड्न सकेको जनकपुर लिग चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000