
काठमाडौं । इटहरीमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरी–८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएका थिए ।
डिएसपी केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पीडकको खोजी गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक भने गरेको छैन । घटनामा संलग्न रहेका इटहरी–१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले बताए ।
उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।











