Logo
Logo

यतिसम्म हुन्छ नेपाल प्रहरीमा



काठमाडौं । अनुगमन र नियमन कमजोर हुँदा नेपाल प्रहरीको अपराध अनुसन्धानमा बेथिती बढेको छ । कतै लापरबाही हुने त कतै नियोजित रुपमै अपराधीलाई जोगाउने गरेको पाइएको छ ।

व्यवसायी बाबुराजा रावलको अपहरणका आरोपी दुर्गा बहादुर बुढाथोकीको अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही गर्दा आरोपी छुटेको खुलेको छ । यस विषयमा हाल महानगरीय प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । आरोपीको पहिचान खुल्ने परिचयपत्र समेत नराखी प्रहरीले मुद्दा चलाएको थियो । जसकारण जिल्ला अदालतले अपहरणका आरोपीलाई सफाइ दिएको छ । यसमा अनुसन्धान अधिकृत नानीकाजी थापा, मुद्दा शाखाका डिएसपी नरेन्द्र चन्द कारबाहीमा पर्ने देखिएको छ । यस घटनामा अन्य हाकिमको समेत कमजोरी देखिएको छ ।

अपराध अनुसन्धानमा जिल्ला–जिल्लामा यस्तो बेथिती देखिएको छ । सर्लाहीमा नक्कली नोटसहित पक्राउ परेका व्यक्तिलाई अभद्र व्यवहार मुद्दा मात्र चलाएर उन्मुक्ति दिएको पत्ता लागेको छ । करिब एक लाख नक्कली नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले खोटाचलन मुद्दा नचलाई अभद्र व्यवहार मात्र मुद्दा चलाएर चलखेलका आधारमा छाडिदिएको हो । यसमा सर्लाहीका एसपी सन्तोषसिंह राठौर लगायतमाथि छानबिन अघि बढाइएको छ । एसपी राठौर यसअघि सोह्रखुट्टे वृत्तमा हुँदा डकैती मुद्दाका आरोपीलाई समेत दुई सातामै मुद्दा बुझाएर छाडिदिएका थिए । सर्लाहीमा घुुमवा परिचालन गरेर अनियमितता गरेकोमा उनीमाथि प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको स्रोत बताउँछ । केही वर्षअघि उनले प्रयोग गर्दै आएको चोरीको गाडी प्रहरीले नै बरामद गरेको थियो ।

धनुषाका एसपी प्रकाश रानाभाटले त लागुऔषध मुद्दामै चलखेल गरेका थिए । लागु औषधसहित पक्राउ परेका केही आरोपीलाई उनले उन्मुक्ति दिएको खुलेको छ । प्रहरी प्रधान कार्यालयबाट बिशेष टोली नै खटिएर यसबारे छानबिन गरिरहेको छ । ‘छानबिन अन्तिम चरणमा पुगेको छ’ स्रोत भन्छ,‘एसपी र मुद्दा शाखाका प्रहरीलाई तत्काल निम्बलन गर्नुपर्नेखालको चलखेल छ ।’

अपराध अनुसन्धानमा नियमन र सुपरीवेक्षण गर्ने काम संघीय प्रहरी इकाईको हो । तर, इकाईलाई उदेश्यअनुसार परिचालन गर्न सकिएको छैन । अपराध अनुसन्धान विभागको अवस्था निकम्मा जस्तै बनेको छ । जसकारण प्रहरी अनुसन्धानमा चलखेल बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्