Logo
Logo

३८ क्वीटल सुन काण्डमा गोरेसहित ६ जनालाई जन्मकैद



विराटनगर । ३८ क्वीटल सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

मोरङका जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी गरी ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

के हो सुनकाण्ड ?

२०७४ माघको पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन भरियामार्फत् एकाएक गायब भएपछि यो घटना सार्वजनिक भएको थियो । २०७४ फागुनमा मोरङको उर्लाबारी–७ निवासी शाक्यको हत्याको कारण खोज्दै जाँदा साढे ३३ किलो सुन तस्करी प्रकरण बाहिर आएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समितिसमेत गठन गरेको थियो । सनम शाक्य इटहरीको जंगलमा मारिएर बिराटनगरमा लास बरामद भएपछि अपराधको इतिहासमा यसले ठूलै तहल्का मच्चायो ।

ओलीकै जिल्ला झापासँग जोडिएका उर्लाबारीका सनमलाई साढे ३३ किलो सुन खोजी गर्नेमा चुडामणि उप्रेती ‘गोरे’हरुले मारेको खुलेपछि यो प्रकरणले हलचल मच्चायो । तत्कालीन आइजीपी प्रकाश अर्याल डरले बिदामा बसे । कार्यवाहक आइजीपी बमबहादुर भण्डारी असहाय भएर प्रहरीका सईदेखि डीआइजीसम्म थुनिएको दृश्य हेर्न विवश भए । ओली सरकारको सबैले वाहवाही गरे ।

यस काण्डमा प्रहरीको अनुसन्धानमाथि विश्वास नगरेर सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वमा छानबिन समिति बनायो । पौडेल समितिले साढे ३३ किलो सुन र सनम शाक्य हत्यामा संलग्न भन्दै प्रहरी र कारोबारीविरुद्ध ३ किस्तामा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्याे ।

सुन काण्डले मोरङ प्रहरी, अदालतका कर्मचारी र कानुन व्यवसायीका दशैँजस्तै भयो । काठमाडौंबाट २०–२० लाख फी लिएर कानुन ब्यवसायीहरु बिरानटगर झर्न थाले । परिणाम, जिल्ला अदालतको आदेशमा अधिकांश जेल परे । मुद्दा पर्नेहरुमा सुन प्रकरणका मुख्य अपराधी मोहनकुमार अग्रवाल र डिजाइनर गोरेका भाइ रमेश उप्रेती हालसम्म फरार छन् । उनीहरु अदालतमा हाजिर भएका छैनन् । अर्कोतर्फ मनाङ होटलका संचालक भुजुङ गुरुङ, उनका साला छिरिङ वाङ्गेल घले, तत्कालीन एसएसपी श्याम खत्री, डीएसपी संजयबहादुर राउत लगायत ४ बर्षदेखि थुनामै छन् । सुन प्रकरणमै पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीले प्रहरी वृत्त सिंहदरबारको शौचालयममै आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्