Logo
Logo

सिटिजन्स बैंकमा लुटपाट, गार्डमाथि गोली प्रहार



काठमाडौं । लुटेरा समूहले सोमबार मोरङको धनपालथान गाउँपालिस्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंक लुटेको छ । लुटेरा समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिटिजन्स बैंक कर्सिया शाखामा दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको बताइएको छ । एक कर्मचारीका अनुसार दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको हो । उनीहरुले कति रकम लुटे भन्ने अहिलेसम्म यकिन भइसकेको छैन। बैंकको गार्डलाई गोली प्रहार गरी लुटेरा समूहले बैंकमा प्रवेश गरेको र लुटपाट गरेको कर्मचारीले बताए ।

‘हामी सबै बैंकभित्र काम गर्दै थियौं,’ ती कर्मचारीले भने, ‘एक्कासी उनीहरुले गार्डमाथि गोली प्रहार गरेको आवाज सुन्यौं । उनीहरुको समूह बैंकभित्र पसेर कति लुटपाट गरे हिसाब गरेपछि मात्र भन्न सकिन्छ।’ अन्य बैंकका कर्मचारीलाई केही भएको छैन भने गार्ड शीतल कुँवरको घाँटीको पछाडिको भागमा गोली लागेको छ ।

लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षा गार्डले रोक्ने प्रयास गर्दा उनलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । ‘५र६ जनाको समूह बैंक लुट्ने उद्देश्यका साथ आएका रहेछन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘लुटेरा समूहले गार्ड शीतल कुवरलाई गोली प्रहार गरी घाइते बनाएरभित्र प्रवेश गरेका रहेछन्। बैंकबाट कति रकम लुटियो भन्ने अहिले जानकारी छैन। बैंकका कर्मचारीले हिसाब गरेपछि मात्रै खुल्छ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्