Logo
Logo

बागलुङमा शिक्षक सरुवाको रेकर्ड नै छैन



स्केच साभारः द काठमाण्डु पाेष्ट

बागलुङ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ ।

अहिले पालिकाबाटै तलब भत्ता खाएका शिक्षकले केही थाहा पाएका छैनन्, तर जब ग्रेड, सरुवा भएको रेकर्ड र स्थायी फाइल खोज्नुपर्छ त्यतिबेला पालिकाम केही भेटिँदैन’ एकाइ प्रमुख कुश्मराज उपाध्यायले भने ‘देशभर नभएको जात्रा बागलुङमा भएको छ ।’
बागलुङ नगरपालिकाले त सामान्य बोधार्थसमेत नदिएर शिक्षकको लागत गोप्य राखेको उनी बताउँछन् । जिल्ला समन्वय समितिमा भएको वार्षिक समीक्षामा उनले उक्त गुनसाो नराखेका होइनन् ।

जिल्लामा अहिले पनि कति शिक्षक दरबन्दी आवश्यक छ, कति जना कुन पालिकामा पठाउने भनेर खोजी भइरहेको उनको भनाइ छ । ‘हामीले खोजी गरेर शिक्षा मन्त्रालयमा माग गरिरहेका छौँ, तर पालिकाले नियुक्त गरेको भए कतै पनि रेकर्ड देखिँदैन’, उनले भने ‘शिक्षा मन्त्रालयमा दरबन्दी विवरण पठाउने जिल्लाको एकमात्रै आधिकारिक संस्था एकाइ हो । ’

नयाँ नियुक्त भएका र सरुवा भएका शिक्षकको फाइल भिडाउने, कागजात संरक्षण गर्ने काम नभएकोले पछि उनीहरुले दुःख पाउने उनी बताउँछन । शिक्षा मन्त्रालयले एकाइलाई नै अधिकार दिएको सुनाउँदै । झट्ट हेर्दा शिक्षा विकास तथा समन्वय एकाइमा कामै छैन । त्यसैले धेरै दरबन्दी पनि कटौती भएका छन् ।

सबै पालिका तहमा शिक्षा शाखा स्थापना पनि भएको छ । त्यसैले एकाइको काम छैन भनेर टिप्पणी गर्ने धेरै छन् तर उक्त टिप्पणी जिल्लाकै लागि घातक हुने एकाइ प्रमुख उपाध्यायको टिप्प्णी छ । उनका अनुसार जिल्लामा अहिले पनि ४५० बढी शिक्षक दरबन्दी चाहिएको छ । तीमध्ये एकाइमार्फत पछिल्लो दुई वर्ष १२८ शिक्षक दरबन्दी प्राप्त भएको छ ।

उनीहरुमध्ये धेरैलाई ढोरपाटन नगरपालिका, निसीखोला र बडिगाड गाउँपालिकामा पदस्थापन गरिएको छ । ती पालिकामा विद्यार्थी र विद्यालय सङ्ख्या धेरै र शिक्षक अनुपात कम थियो । सदरमुकामका विद्यालयमा भने शिक्षक दरबन्दी धेरै छ । दरबन्दी मिलान गर्दा पनि बजार क्षेत्रबाट केही शिक्षक अझै बाहिर जाने अवस्था आउने उनको भनाइ छ ।

केही दरबन्दी मिलान भए पनि अझै जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा दरबन्दी मिलान हुन नसकेको एकाइको प्रतिवेदनमा उल्लेख छ । असारदेखि भूकम्प पुनःनिर्माण प्राधिकरणअन्र्तगत रहेको शिक्षा हेर्ने एकाइ पनि यहाँ गाभिएको छ । कर्मचारी कटौती भएकाले शिक्षाकै दरबन्दीले हेर्नुपर्ने बाध्यता छ तर एकाइमा लेखा अधिकृतसमेत छैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटिएका अधिकृतले लेखा हेर्दा पुरानो बेरुजु घटाउन समस्या भएको छ । यसअघि भौतिक पूर्वाधारका कार्यक्रम कम भए पनि चालु वर्ष पूर्वाधार निर्माण पनि एकाइमा थपिएको उपसचिव कृष्णराज रेग्मीले जानकारी दिए । ती क्रियाकलापसँगै एकाइले कक्षा ११ र १२ को परीक्षा पनि हेर्ने गरेको छ । परीक्षा हेरेर वार्षिक रु ५० लाख राजस्वसमेत सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्