Logo
Logo

अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन अस्पताल भर्ना


एजेन्सी


वासिंगटन । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पतालमा उपचार गराइरहेका छन् । उनका प्रवक्ताले ७५ वर्षीय क्लिन्टनको अवस्थामा सुधार भइरहेको बताएका छन् । उनलाई यूसी अर्भिन मेडिकल सेन्टरमा मंगलबार भर्ना गरिएको हो । चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा क्लिन्टनलाई एन्टिबायोटिक र झोल पदार्थ दिइएको जनाएका छन् ।

नियमित निगरानीका लागि उनलाई अस्पतालमा नै राखिएको चिकित्सकहरूको भनाइ छ । ‘दुई दिनको उपचारपछि उनको ह्वाइट ब्लड सेलको गणना घटिरहेको छ र उनमा एन्टिबायोटिकहरूले राम्रो असर देखाइरहेको छ ।’

यूसी अर्भिनका चिकित्सकहरू न्यूयोर्कमा रहेका क्लिन्टनका स्वास्थ्यकर्मी र उनका मुटु रोग विशेषज्ञहरूसँग पनि सम्पर्कमा रहेका छन् । उनीहरूले क्लिन्टनलाई चाँडै घर पठाइने जनाएका छन् । क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाका राष्ट्रपति थिए ।

सन् १९९८ मा ह्वाइट हाउसकी एकजना इन्टर्न मोनिका लोवेन्स्कीसँगको आफ्नो सम्बन्धबारे अनुसन्धानकर्ताहरूलाई ढाँटेकोमा उनीविरुद्ध महाभियोग लगाइएको थियो । तर सिनेटमा भएको सुनुवाइबाट उनले उन्मुक्ति पाएका थिए ।

सन् २००४ मा क्लिन्टनको बाइपास सर्जरी गरिएको थियो र त्यसको १० वर्षपछि छाती दुखेको बताएपछि उनको मुटुको धमनी सफा गरिएको थियो । चिल्लो खाना रुचाउने यी पूर्वराष्ट्रपति दोस्रो सर्जरीलगत्तै शाकाहारी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्