Logo
Logo

सुदूरपश्चिममा बाढीपहिरो : ७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै बेपत्ता



धनगढी । आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ । प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी सात जनाको मृत्यु भएको छ ।

बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् ।

यस्तै डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ । सोमबार राती जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा बीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डमा टोली खटिएको छ ।

उता डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म १ जनाको मृत्यु भएको छ ।

यस्तै डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए । खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको शाहीले जानकारी दिए । सकायल चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

बझाङका २३ जना बेपत्ता
बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले सार्की मात्र शकुशल छन् ।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । स्थानीय शिक्षक साउदका अनुसार तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भइ त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताए ।

कैलालीमा तीन जना बेपत्ता
कैलालीमा तीन जना बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सेतीमा ६० जना फसे, कञ्चनपुरका ५ जनाको उद्दार
सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारैतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको जानकारी दिए । हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि सफल हुन सकेको छैन । उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब १ सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै राती नै सुरक्षित स्थानमा सरेका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको छ ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्धार गरिएको छ । उद्दार गर्न सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको टोलिले बेलुका ५ बजे सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सबैलाई सकुशल उद्धार गरिएको बताए । कैलालीको मोहन्यालमा फसेका दुई जनाको भने उद्धार हुन बाँकी छ ।

कर्णाली नदी कैलालीका बस्तीमा पस्यो
कर्णाली नदीको बाढी गाउँ पसेपछि दर्जनौ घर डुबानमा परेका छन् । कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका नम्बर ९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको स्ल्याप भत्काएपछि बाढी बस्तीमा पसेको हो ।

पुलको पूर्व तिरको स्ल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । नदीको पानी नजिकै रहेको बस्तीमा पसेर ५० बढी घर डुबाएको उनले बताए । साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ । यस्तै मंगलबार दिउँसो टीकापुर नगरपालिका–५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ ।

गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिण क्षेत्रका गाउँका बासिन्दालाई माइकिङ गरेर घर छोड्न लगाइएको टीकापुर नगरपालिका–५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिए । यस्तै आज कर्णाली नदीको वहाव ७ वर्ष यताकै उच्च पुगेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २०७१ सालपछि सबैभन्दा बढी कर्णालीमा वहाव देखिएको हो । २०७१ सालमा १६ मिटरसम्म पानीको वहाव पुगेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले आज झण्डै १३ मिटर पुगेको जानकारी दिए । पौने ११ मिटर वहाव पुगेपछि खतरा नाघेको मानिन्छ ।

यस्तै कैलालीका खुटिया, मोहना लगायतका नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका लगायतमा सयौं घरमा पानी पसेको छ ।

महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च
आज महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । महाकालीको जलस्तर ५ लाख ४७ हजार २ सय ३७ क्युसेक पुगेको हो । यो महाकाली नदीमा शारदा ब्यारेज बनेदेखि इतिहासकै उच्च वहाब छ । सन् १९३४ मा ५ लाख २२ हजार, २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ र आज ५ लाख ४७ हजार २ सय ३७ क्युसेक मापन भएको हो । नदीमा वहाब उच्च भएपछि शारदा व्यरेजमा खतराको चिन्ह रातो बत्ति बालिएको छ । पुलमा आवतजावत पूर्ण बन्द गरिएको छ ।

यस्तै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा ९ सयभन्दा बढी घर डुबानमा परेका छन् । महाकाली नदीको पानी गाउँ पस्दा नगरपालिकाको वडा नं. १० का अधिकांश घर डुबानमा परेका हुन् । बाढी पीडितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीले बताए । उनका अनुसार बाढी पीडितलाई उद्धार गरी अम्भिका माविमा राखिएको छ ।

सेती नदीको पक्की पुल जोखिममा
डोटीको सेती नदीमाथिको पक्की पुल जोखिममा परेको छ । तीन दिनदेखिको वर्षाका कारण नदीमा पानीको वहाब एकाएक बढेपछि पुल जोखिममा परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयले जारी गरेको बुलेटिनअनुसार पुलमा आवागमन बन्द गरिएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । यस्तै सेती नदीमा आएको बाढी बस्ती पसेको छ ।

दिपायलस्थित सेती नदी र द्वारीखोलाको तटमा रहेका दक्षिणकाली वर्कसप, डोटी चेम्बरको नव निर्मित भवन, दिल्पेश्वर माविको भवन, महादेव मन्दिरलगायत संरचना डुबानमा परिसकेका छन् । दक्षिणकाली वर्कसपमा राखिएका दुईवटा बोलेरो जिप पनि डुबेका छन् । दिपायल सिलगढी नगरपालिका–३ का वडाध्यक्ष चक्र माझीले वडा नं २ र ३ को सिमानामा पर्ने पुल बजारमा सेती नदी पसेर बस्ती जोखिममा परेको बताए ।

सुदूरपश्चिमका ९ जिल्लालाई २५-२५ लाख दिने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि ९ वटै जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता पूर्णा जोशीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेकी उनले क्षतिको यकिन विवरण आए थप राहत उपलब्ध गराउने बताइन् । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको छ । अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाले आकस्मिक बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्