Logo
Logo

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन एकीकृत समाजवादीको माग



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने बेलामा क्षति पुगेकाले पीडित किसान परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा परेकाले तत्काल राहत एवं क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘धान बाली सहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्याँकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी सरकारसमक्ष जोडदार माग गर्दछ । कृषक जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ’ प्रवक्ता खतिवडाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै, यसप्रकारको प्राकृतिक विपदको व्यवस्थापन तथा न्युनिकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न एकीकृत समाजवादीले जोडदार माग गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीले देशका विभिन्न भागमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेका जनसमुदायको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई सम्पूर्ण रुपमा परिचालित हुन पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएका छन् । सरकारका विभिन्न तह, निकाय एवं विभिन्न सामाजिक, गैरसरकारी संघसंस्थासँग समन्वय गरी सिंगो पार्टी पंक्ति त्यसअनुसार देशैभरी क्रियाशील रहेको प्रवक्ता खतिवडाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्