Logo
Logo

तत्काल राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसँग निधिको माग



काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल राहत, क्षतिपूर्ति एवं पुनःस्थापनाको व्यवस्थामा सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसकै सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज उपसभापति निधिले पीडितहरुलाई छिटो भन्दा छिटो उद्धार र राहतको व्यवस्था मिलाउनेतर्फ सक्रिय हुन ध्यानाकर्षण गराएका हुन् ।

‘बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबानले देशका विभिन्न भागमा धनजनको ठूलो क्षति गरेको छ । कम्तिमा ३० जनाको मृत्यु भएको छ । कयौं सम्पर्कविहीन छन् । भित्र्याउन ठिक्क पारिएको धानबाली पनि भिजेर नोक्सान भएको छ । नदी तटीय क्षेत्रका वासिन्दा जोखिममा छन् । कतिपय ठाउँमा विद्युत, टेलिफोन र हवाई सेवा पनि अवरुद्ध छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई यथाशक्य चाँडो उद्धार र राहतको व्यवस्था मिलाउन तथा अवरूद्ध सेवा नियमित गर्नेतर्फ सक्रियता देखाउन सरकारको ध्यानाकर्षण गराउँदछु’ उपसभापति निधिले लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्धार र राहत कार्यमा आ–आफ्नो तर्फबाट जुटन कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । साथै बाढी, पहिरो र डुबानको जोखिम क्षेत्रमा रहेकालाई आवश्यक सावधानी अपनाउन उनले अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्