Logo
Logo

पाँचथरको मिक्लाजुङमा २१ जनाको मृत्यु



पाँचथर । आइतबारदेखि लगातार परेको वर्षासँगै गएको बाढीपहिरोले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २१ जनाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार वडा नम्बर-५ स्थित कुरुम्बाको चिसापानीमा १५ जनाको मत्यु भएको छ । त्यस्तै, वडा नम्बर- १ र २ मा २–२ जनाको मृत्यु भएको छ भने खोलाले बगाएर वडा नम्बर–४ का १ जना बेपत्ता भएका छन् ।

पहिरोले बाटो बन्द भएपछि उद्धारमा कठिनाइ भएको अध्यक्ष माखिमले जानकारी दिए । अहिलेसम्म घटनास्थलमा प्रहरी पनि पुग्न नसकेको उनले बताए । मिक्लाजङ गाउँपालिकाको प्रयाः सबै वडामा पहिरोले सडक अवरुद्ध भएको छ ।

अध्यक्ष माखिमले दृष्टिन्युजसँग भने, ‘स्थिति जटिल छ । पानी रोकिएपनि पहिरो रोकिएको छैन । वडा नम्बर-५ मा त झन् भयानक छ, गोरेटो समेत बन्द भएकाे छ । धेरैको पहिचान हुन सकेको छैन ।’

पोस्टमार्टमको लागि पनि समस्य भएको उनको भनाइ छ । उनले भने, ‘पोस्टमार्टमका अस्पताल लाने कि नलाने भन्ने सीडीओसँग छलफल गर्दैछौँ, सडक पूरै अवरुद्ध छ, पोस्टमार्टम गर्नका लागि अस्पताल लान हेलिकोप्टर नै चाहिन्छ ।’

बाढीपहिरोका कारण टेलिफोन र मोवाइल सेवा अवरुद्ध भएकाले क्षति विवरण संकलन गर्न मुस्किल भएको अध्यक्ष माखिमले जानकारी दिए । बाढीपहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् ।

त्यस्तै फिदिम नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्माय गाँउपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोका कारण मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथर सडकखण्ड समेत अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्